नेपालमा कोभिडबाट मृत्यु : भ्रम र यथार्थ

डा मोहनचन्द्र रेग्मी

विश्वलाई नै स्तब्ध बनाउँदै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले जनमानसमा एक किसिमको त्रास फैलाएको छ। यस्तैमा भ्रमको खेती पनि निकै नै मौलाएको छ।

विश्वका ठूला अर्थतन्त्रका मालिकले समयमै बुझ्न नसकेको यो भाइरसको आनुवंशिक व्याख्या हालसालै मात्रै भएको परिप्रेक्षमा यससम्बन्धी अनेकौं व्याख्या र अपव्याख्या हुनु आफैंमा अनौठो रहेन। मानवीय विकास सूचांकमा तल्लो स्थानतिर रहने हाम्रो देशमा यसले पार्ने असर प्रत्यक्ष र अप्रत्यक्ष  रहनेछन्। तर चुनौतीलाई अवसरमा रुपान्तरण गर्न सक्ने यसले ठूलो मौका पनि दिएको छ।

मूलतः स्वास्थ्य नै जीवन हो भन्ने मूल मर्मलाई बुझेर नेपालीको सबै किसिमको रोगको उपचार नेपालकै स्वास्थ्यकर्मीद्वारा नेपालमै हुनुपर्छ भन्ने मर्मलाई यसले स्थापना गराउन पक्कै मद्दत गर्नेछ। नीति निर्माण तहमा रहेका सबैले पक्कै मनन गर्नु हुनेछ। यस्तो अवस्थामा राज्यले सही सूचना र व्याख्या जनतामा पर्‍याउनुपर्छ, जसले गर्दा यस महामारीको सामना गर्न मद्दत पुर्‍याउँछ।

घटना १
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएकी महिलाको दुई हप्ता भित्रै कोरोना संक्रमणसँगै मृत्यु भएपछि एकाएक सनसनी मच्चियो। तर, ती महिलाको मृत्युको प्रत्यक्ष कारण कोरोना भाइरस संक्रमण हो भन्ने कुनै आधार छैन। कुनै समस्या नभए पनि सुत्केरी महिलाहरु ६ हप्तापछिसम्म अन्तर्निहित जोखिममै रहन्छन्।

स्वास्थ्यकर्मी सबैको रिपोर्ट र घरपरिवारको रिपोर्ट हेर्दा त्यति छिट्टै कोरोना संक्रमणको कारण श्वासप्रश्वासमा समस्या भई मृत्यु नै भएको भन्ने आधारमा विश्वास गर्न सकिँदैन।

इजरायली वैज्ञानिकले गरेको विश्वभरिको तथ्यांक गणितीय विश्लेषणमा श्वासप्रश्वासमा समस्या भई जटिल अवस्था उत्पन्न हुनको लागि ४-५ हप्ताको समय लाग्ने देखिन्छ। मातृ मृत्युका अन्य कारण जस्तैः फोक्सोमा पानी जम्नु जस्ता समस्याको बारेमा पनि विश्लेषण हुनु जरुरी छ। पोस्टमार्टम सम्भव नरहेकोले तथ्यहरु गर्भमै रहने खतरा छ। हालसम्म कोरोना भाइरसकै कारण सुत्केरी अवस्थामा जोखिम बढ्ने तथ्य प्रमाणित भएको छैन।

घटना २
बाँकेको क्वारेन्टाइनमा एक युवकको मृत्यु भयो। क्वारेन्टाइनमै उपचार अभावमा युवकको मृत्यु हुनु निकै त्रासदीपूर्ण घटना थियो। उनी करिब दुई हप्ता लगाएर मुम्बईबाट नेपाल आइपुगेको हुँदा यात्रासँग निहित जोखिम साथै लिएर आएका थिए। धेरै दिन पैदल हिँडेर आएका उनलाई क्वारेन्टाइनको कमजोर व्यवस्थापनको कारण झाडापखाला र बान्ता भयो। त्यसपछि शरीरमा विभिन्न तत्वहरु उत्पन्न भई इलेक्ट्रोल्याट इन्ब्यालेन्सको समस्याले उनको मृत्यु भएको देखिन्छ। तर बिरामीको अन्तिम समयमा साथमा कोही नभएकोले यस्तो विषय पनि रहश्यकै रुपमा रहला।

घटना ३ 
क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका शिक्षक धेरै स्वास्थ्य समस्या भएका व्यक्ति थिए। कोरोना भाइरस संक्रमणकै कारणले मात्र उनको मृत्यु भएको कुनै आधार देखिँदैन।

घटना ४
मिर्गौलाको समस्याका कारण मृत्यु भएका वृद्धको रिपोर्ट आठ दिनपछि मात्रै प्राप्त भएको थियो। धेरै समयपश्चात् संक्रमणको शंकाले गरिएको मृत्युलाई प्रमाणित गर्ने आधार देखिँदैन।

माथिका परिदृष्यहरुलाई मन्त्रालयले कम्तीमा राम्रोसँग व्याख्या गर्नुपर्छ। पहिलोपल्ट श्वासप्रश्वासमा समस्या आउँदा धुलिखेलबाट फर्काइएकी सुत्केरीलाई त्यतिबेलै सघन उपचार प्रदान गरेको भए बाँच्ने आशा रहन्थ्यो कि? साथै सामान्य जलवियोजनको उपचार गरी समयमै स्वास्थ्य संस्था पु¥याउन सकेको भए पानी समेत नपाएर ज्यानै जाने अवस्था आउने थिएन कि? मानवीय भावना भएका सबै स्वास्थ्यकर्मीलाई यी प्रश्नले घोचिरहने छ।

माथि उल्लेखित सबै घटना उपचारको पद्धति र प्रक्रियाको विशिष्टता मापन गर्ने परिदृश्य हुन्। कोरोना संक्रमणले स्वास्थ्य क्षेत्रको ठूलो पुनर्संरना गर्ने मौका दिएको छ। यसमा कोही पनि चुक्नु हुँदैन।

स्रोत : स्वास्थ खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close