कोरोना र कृषि

Date:

Share post:

– अंकिता श्रेष्ठ (Msc Ag)


पुरै सिङ्गो ब्रहमाण्ड अहिले कोरोना जस्तो महामारीको चपेटामा रुमल्ली रहेको भयावह अवस्था छ र हामी त्यस बाट अवगत नै छौं । यस सम्बन्धि थुप्रै लेखहरु पढने मौका पाँए । कुनै स्वास्थ्य, अर्थ बजार, कृषि, मनोविज्ञान, आदि इत्यादि सँग सम्बन्धित थुप्रै लेख पढियो तर म एउटा कृषि पढने छात्रा भएको कारण कृषि सँग जोडिएका लेख र पोष्टले मेरो ध्यान त्यतातिर तान्न सफल रहयो ।

हामी मानव जात वीवेकसील प्राणीमा गनिन्छौँ तर साँचो अर्थमा के हामीहरुले हाम्रो विवेकको सहि उपयोग गरिरहेका छौं त ??? आफैलाई प्रश्न गरौँ त ? हामी केहि नभए जस्तो व्यवहार गर्न पनि उत्तिकै माहिर छौं । यस संकटको घडीमा सरकारले लकडाउनको घोषणा गर्दा हामी सबैको पहिलो प्राथमिकता खाद्य वस्तु नै थियो र यो देख्दा लाग्यो हामी सबैले खाना र उत्पादन कर्ता (किसान) को महत्व र योगदान पक्कै पनि बुझ्यौँ । हामीले बुझ्यौँ बुझेनौँ मैले हेक्का राख्न सकिन तर यस लकडाउनले सबैभन्दा मारमा किसानहरु परेको भने पक्कै पनि हामी सबैले मनन गरेको हुनुपर्छ ।

कति ठाउँमा तरकारी बिक्री नभएर किसानहरुले बाटोमा फालेको, कतै खेतमै ट्रयाक्टर लगाएर जोत्न बाध्य रहेको अवस्था छ र भने कतै तरकारीको भाउले आकाश छोइरहेको छ । जस्तै बर्दिया जिल्लामा तरकारीको उत्पादन निक्कैनै राम्रो रहेको र यस आपतको बेलामा सबैजसोले हरियो ताजा तरकारी खान पाईरहनु भएको छ र तरकारीको मात्रा बर्दिया जिल्लालाई पुगेर पनि बढि भएको र सस्तो दरमा दिनुपर्ने अवस्था सिर्जना भएको छ तर विडम्बना छिमेकी जिल्ला बाँकेको नेपालगंजमा भारतबाट तरकारी आइरहेको छ जुन यो अवस्थामा अति नै भयावह हुन सक्छ । त्यसैगरी रुपन्देही जिल्लाका किसानले तरकारीको लागी उचित बजार नपाएकै कारण बाटोमा छताछुल्ल गरि फ्याकेको देखियो र चितवनमा खेतमै जोत्नु पर्ने अवस्था आयो । किसानको बालीको सहि व्यवस्था नभएको देख्दा मन अमिलो भएर आउछ ।

किसानलाई तरकारी बिक्री नभएको पिडा त थियो नै अब झन कृषकको महत्वपुर्ण काम धान रोप्ने समय नजिकिदैँ गर्दा साह्रै पिरोलेको छ । एक समाचारमा रासायनिक मल लकडाउनको कारण भारतमा अडकिरहेको छ भनेर कृषि र पशुपन्छी मन्त्रालयले भनेको पाइयो, अचम्म हाम्रो घैंटोमा अझै घाम नलागेको रहेछ । कहिले सम्म त्यो विषादीको चपेटामा निमुखा किसानको बलि चढ्ने ? अब हामी हाम्रै पुरानो चलनचल्तीमा फर्किने सहि बेला हो कि ? उत्पादन, माटो स्वास्थ्य भयो भने आफै राम्रो हुन्छ किनकि उत्पादन माटोमा भर पर्छ र माटो आफैमा अथाह उब्जनी दिन सक्षम छ कुनै बाहिरी रासायनिक विषादीमा होइन र कृपया विषादीको प्रयोगले माटोको स्तर नघटाउ । अबको दिनमा रासायनिक मलमा देशको ढुकुटी खाली गर्नु भन्दा अर्गानिक खेतीलाई प्राथमिकता दिने पो हो कि ? कृषिमा आत्मनिर्भर हुन अर्गानिक खेतीले धेरै मदत पुर्याउँछ भन्नेमा म विश्वस्त छु ।

फोटो : यशु केसी

नेपाल सरकारले जिल्ला कृषि विकासको बदलामा कृषि ज्ञान केन्द्रको सुरुवात गर्नुको उद्धेश्य कृषि र कृषकको तल्लो स्तर बाटै चौतर्फी विकास गर्नु हो । तर अफसोच मैले यो अवस्थामा धेरैजसो ज्ञान केन्द्र निर्जीव जस्तो भएको पाएँ । किसानहरु मारमा परिरहेको अवस्थामा ज्ञान केन्द्रहरुले आफ्नो भुमिका निर्वाह गरेको खै त ? मेरो विचारमा तरकारी बढी भएको खण्डमा फ्याँकनु त्यति उचित नहोला बरु कृषकलाई यो बारे आश्वासन दिई त्यसको मल बनाउन लगाए बढी लाभदयाक हुन्थ्यो होला र अझ त्यो भन्दा कृषि ज्ञान केन्द्रले त्यसमा मद्धत गर्नुको साथसाथै कृषकको घरघरबाट उचित मुल्यमा खरिद गरि आम जनमानस जहाँ अभाव छ त्यहाँ पुर्याउन सके अति नै फलदायक हुन्छ भन्ने धारणा राख्दछु । साथै कृषि सहकारीको स्थापना गरी उपभोक्ता र किसानको बिचको दूरीलाई घटाउन तिर लागौं । ताजा तरकारी र फलफूलको उपभोग समय अवधि छोटो भएको कारण छिट्टै बिग्रिन्छ त्यसैले कृषकहरु जसोतसो बेच्न तिर केन्द्रित हुन्छन । हामी साग बाट गुन्द्रुक, स्याउको सुकुटी, टमाटरको सस, आलुको चिप्स, मूलाको अचार, बेलको सर्बत, काउली सुकाएर राख्न सकिन्छ र दुध बाट चिज, कुल्फी, दहि, घ्यु, आदि बनाएर पछि त्यसलाई बेच्न वा प्रयोग गर्न सकिन्छ भन्ने किसानलाई सिकाउनु अत्तिनै आवश्यक छ । यसो गर्दा आम्दानी वृद्धि संगै खाद्य अभावहुँदा धेरै नै काम लाग्नेछ । यो महामारीको अवस्था साम्य भए लगतै मानिसहरुको व्यवहारमा परिवर्तन देख्न सक्छौं जस्तै अबको अझै केहि वर्ष मानिसहरु भिडभाडमा हिँड्न वा जान अलि डर मान्ने र हिचकिचाउने गर्छन । यो अवस्थालाई एउटा राम्रो अवसरको रुपमा लिन सकिन्छ कि ? जस्तै यसबाट हामीले नयाँ व्यवसायको सुरुवात गर्न सकिन्छ, जस्तै तरकारी, चामल, दाल, फलफूल, मसला, फूल, आदि घरघरमै पुर्याउने र यो एउटा राम्रो रोजगारीको अवसर हुन सक्छ ।

फोटो : यशु केसी

कृषि क्षेत्रमा भण्डारणको समस्या धेरै पुरानो हो र अहिले त्यसैको अभावले थुप्रै कृषिजन्य वस्तु खेर गएको हामी देख्न सक्छौं र यसको आवश्यकता धेरैनै महसुस गरिएको खण्डमा, नयाँ शैली र कम लागतमा भण्डारणको व्यवस्था गर्न तिर लाग्ने र स्वयम यसले रोजगारको सृजना गर्छ । त्यसैगरी खेतीयोग्य जमिन नभएकाहरुलाई खासगरी काठमाण्डौमा कौसीखेतीको बारेमा सिकाउन सकिन्छ, त्यसो गर्दा सिकाउने व्यक्तिलाई रोजगारी हुन्छ र सिकनेले चाहेको बेला हरियो ताजा तरकारी खान पाउने छ । जडिबुटीको वरदान भएको देशमा त्यसलाई प्रयोग गरेर आम्दानी गर्न सकिन्छ । लकडाउन नै भए पनि विवाह, पूजा आदि भइनै रहेको छ, त्यसले गर्दा फूलको बजारपनि राम्रै छ र यसमा पनि रोजगारी खोज्न सकिन्छ । कृषिमा थुप्रै संभावनाको जिकर त गरियो तर केहि गर्छु भन्ने हरुको मनमा पूंजीलाई लिएर असमन्जस हुन सक्छ, त्यसैले बैंकिक संस्थाले स्टार्टअप हरुलाई सहयोग गर्नु आवश्यक छ । हामी थुप्रै कृषि विज्ञ अहिले लकडाउनले गर्दा धेरै फुर्सदिलो भएका छौँ, यो समयलाई उपयोगी बनाउने होकी ? यो अवस्थामा कृषि प्रसारको ठूलो खाँचो रहेको छ र सँगै जिम्मेवारी पनि त्यतिनै ठूलो छ । हामीमा पक्कै पनि थुप्रै सोच, उपाय र तरिकाहरु छन होला, त्यसलाई व्यवहारमा उतार्ने स्वर्णिम समय पक्कै पनि यही हो । कृषिलाई आजैबाट ध्यान नदिए आगामी दिनमा कोरोनाले भन्दा खाद्य अभावले डरलाग्दो स्थिति नआउला भन्न सकिन्न।
हो, हामी यो भयावह महामारीको कारण हतोत्साहित बनेका छौँ तर यही बेलालाई हामीले संयमपूर्ण रुपमा र सकरात्मक सोच सहित अगाडी बढ्नुपर्छ । सकरात्मक सोच राखौं हाम्रो आउँदो भविष्य प्रति, हाम्रो कृषि प्रति र हातमा हात राखेर बस्नु भन्दा एउटा सानो पाईला कृषिको विकास तर्फ लम्काउ र बौद्धिक प्राणी भएको प्रमाण दिउँ । एक लेखमा भनेजस्तै मानिसहरु अहिले कृषिमा आश्रित भई आफ्नो भबिष्य सुनिश्चित गर्न चाहन्छन र यस लकडाउनले गर्दा हजारौं व्यक्तिको आहार र रोजगारी खोसिएको छ । धेरैजसो जनशक्ति अहिले घरमै बसी कृषिमा लाग्ने योजना बुन्दैछन र कतिपयले यसको सुरुवात गरिसकेको देख्न सकिन्छ ।

फोटो : यशु केसी

हाम्रो वर्तमान कृषि मन्त्री भुषाल भन्नुहुन्छ – यदि बाहिरबाट आउने ८-१० लाख र हाम्रै देशको ५-६ लाख मान्छे थपिए भने सबै कृषिमै केन्द्रित हुने छन् । यदि यस्तो भयो भने कृषिमा श्रमको संख्या धेरै हुन्छ र सबैलाई समान तरिकाले परिचालन गर्न सके हाम्रो देशको कृषिको मुहार छिट्टै फेर्न सकिन्छ । हामी सबै यान्त्रिकृत कृषिको चाहना राख्छौं तर बढ्दो श्रम भएको खण्डमा यान्त्रिकरणमा जोड दिनु पर्ने कुनै हतार अहिले देखिन्न । हामी यो समयमा श्रमको पक्षमा बलियो हुने अनुमान छ, भने यो मौकाको सदुपयोग किन नगर्ने ? विदेशबाट फर्किएका र स्वदेशमै रहेका थुप्रै बेरोजगार युवाको पहिलो प्राथमिकता कृषि हो र सरकारले यसलाई बुझेर एउटा तिर बाट दुइटा निशाना साँध्न सक्छ जस्तै ति युवाशक्तिलाई रोजगारको सृजना र साथै उत्पादनमा वृद्धि गर्न सकिन्छ । कोरोनाको कारण आफ्नो मातृभूमि फर्किएका जनशक्तिलाई स्वदेशमै राख्ने बलियो आधार कृषि नै हो र त्यसको लागी सरकारको तवरबाट लोभलाग्दो र भरपर्दो योजनाहरुको प्रस्ताब आउनु जरुरी छ र साथै गरे देशमै पैसा फलाउन सकिन्छ भन्ने सोचको विस्तार गर्नु सरकारको एक मुख्य दायित्व हुन जान्छ ।

फोटो : यशु केसी


खेतीयोग्य जमिनलाई बाँझो राखेर विदेशीएका युवाले पठाउने रेमिट्यान्सको आधारमा हाम्रो देशको अर्थ बाँचीरहेको थियो तर कोरोना बढे संगै युवाको स्वदेश फर्काई पनि बढयो जसले गर्दा देशको आर्थिक स्तिथिमा ठुलै उथलपुथल मच्चिएको अवस्था छ र यसलाई स्थिर गर्ने सामर्थ्य केवल कृषिमा मात्रै छ । यसले के बुझिन्छ भने रेमिट्यान्सको भरमा देशले क्षणिक अर्थतन्त्र धान्ला तर कृषिको आडमा आउँदो हजारौं वर्ष सुनिश्चित हुनेछ । म्याग्दीको दरबांग गाउँमा घर फर्किएका यूवालाई परिचालन गरी बाँझो रहेको जमिनमा दलहन र गेडागुडी खेती भईरहेको छ र यसबाट हामी सिक्न सक्छौं र हरेक गाउँ, नगरमा यस्तो सराहनीय कामको थालनी भए अत्तिनै उपयुक्त हुने थियो । नेपालमा बाँझो रहेको जमिनको तथ्यांक लिने हो भने सायद त्यो बाँझो जमिनले मात्रा सारा नेपालीको भोक हटाउने क्षमता छ होला । कृषि विकास बैंकको अहिलेको नारा भनेको ‘कृषिलाई नछोड्ने, अरुलाई जोड्ने’ रहेको छ र यसले के ईङकित गर्छ भने कृषि नै हाम्रो भविष्य हो र कृषि माथि उठे सारा देश माथि उठ्नेछ । यस नाराले हतोत्साहित कृषकमा आशाको किरण छरेको छ र नयाँ उर्जा थपेको भने पक्कै छ ।
हरेक बजेट भाषणमा कृषिको बजेट घोषित हुन्छ तर त्यसको सहि सदुपयोग भएको पाइएन र सधैं ओझेलमा राखियो तर अब कृषिलाई अग्रपंक्तिमा राख्नु अत्यन्तै जरुरी छ किनकि जबसम्म अर्थपूर्ण कृषि पक्ष बलियो हुदैन तब सम्म आर्थिक विकास असम्भव देखिन्छ । अब निर्वाहमुखी कृषि होइन, व्यवसायीकरण तिर लाग्नु आवश्यक छ र भोलीका दिनमा हामी कृषिजन्य वस्तुको लागी अरु राष्ट्रमा निर्भर हुन नपर्ने गरि आजकै दिनबाट कृषिमा सहि योजना र नीति लागू गरेर आत्मनिर्भर हुनु जरुरी छ । कोरोनाले र लकडाउनले गर्दा कृषिमा धेरै संभावनाहरु देखिएका छन, बिन्ती यसलाई बेलैमा बुझेर ठोस कदम चाल्नु आवश्यक छ र यो समयलाई वरदान बनाऊ अभिशाप होइन । र यो कहिले नभूलौ कृषि हामीमा होइन हामी कृषिमा निर्भर छौँ ।

फोटो : यशु केसी

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...