Trending

२५ + १२ = ७७

– प्रभात सुवेदी

(संस्मरणात्मक आलेख)
भर्खरै आइएस्सी सकेर म खाली बसेको थिएँ । २०५२ साल माघ १३ गते अचानक बुबा बिरामी भएपछि पारिवारिक अवस्थाले गर्दा मैले मेरो पढाइलाई निरन्तरता दिन सकिन । जसले गर्दा केही काम नगरी बस्न मन नभएपछि आँफैले पढेको विद्यालय विद्याज्योति मावि कण्ठपुरमा केही महिना पढाउने अवसर पाएँ । त्यसपछी साविक जमुनी गाविसमा रहेको दीप ज्योति मावि डाँफे मा गएर पढाउन थालेँ । कला र सञ्चार भनेपछी सानैदेखि हुरुक्कै हुने भर्खरै स्थापना भएको नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरले समाचारवाचकको विज्ञापन गरेको थाहा पाएर त्यस विज्ञापनमा आवेदन दिनको लागि कोहलपुर पुगेर फर्किने क्रममा एक निजी विद्यालयका प्रधानाध्यापकले मेरो प्रोफाइल हेरिसकेपछि आफ्नै विद्यालयमा काम गर्नका निमित्त अनुरोध गर्नुभयो । मेरो बालसुलभताले उक्त अनुरोधलाई नकार्न सकेन र मैले त्यो प्रस्तावलाई सहजै स्वीकार गरेँ । तत्पश्चात घर आएर त्यस विद्यालयमा काम गर्नका निमित्त म कोहलपुर गएँ । केही कुराकानी र सहमति पश्चात म अध्यापन कार्यमा संलग्न भएँ । पढाउनुपर्ने विषय र कक्षाहरु अरु त मलाई केही पनि थाहा भएन र याद पनि छैन तर एउटा कक्षामा गएर पढाएको कहिल्यै पिन विर्सन सकिन । त्यो कक्षा थियो कक्षा चार अनि मलाइ पिरियड पनि याद छ दोस्रो पिरियड हो । सो कक्षामा गएर पढाउनुपर्ने विषय सामाजिक अध्ययन थियो । कक्षा चारका साना नानीबाबु हरुले अङ्ग्रेजी माध्यममा पढाउदा के बुझ्लान् भन्ने सोचेर र म पनि त्यति अभ्यस्त भइनसकेको हुनाले अंग्रेजीमा र केही कुरा नेपालीमा बढाउँदै गर्न थालेँ ।
यसैबीच एक जना छात्राले आफ्नो बेन्चबाट उठेर अंग्रेजी माध्यमै पढाउन अनुरोध गरेकी थिइन् । उनको अनुरोध बेग्लै प्रकारको थियो । अलि निर्भिक अनि अलि झोक्किलो पाराको, त्यो अनुरोध अहिले पनि मलाई झल्झल्ती याद आउँदछ । उनको अनुरोधले मलाई एकपटक हैन पटक पटक सोच्न बाध्य बनायो । उनले अंग्रेजी माध्यमबाटै पढाउन गरेको अनुरोधले मलाई अलि गहन तरिकाबाट सोच्न बाध्य गरायो । हुन त त्यस विद्यालयमा म त्यति लामो समयसम्म अध्यापन गरिन तर ती छात्राको अनुरोधले गर्दा मलाई जीवनभरि नै एउटा गतिलो पाठ भने मज्जैले सिकायो । उनले भनेको अंग्रेजीको वाक्य “सर प्लिज टिच अस इन इङ्गलिस मेडियम, डोन्ट टिच अस इन नेपाली” ले मेरो मन र मस्तिष्कमा झनझनाहट पैदा गर्यो । जसले गर्दा ती छात्रालाई मैले कहिले बिर्सिन सकिन । त्यसपछि मेरो अंग्रेजी भाषा प्रतिको मोह बन्न थाल्यो । भित्रभित्रै सिक्ने उत्कण्ठा थपियो जसले गर्दा निरन्तर रुपमा आफ्नो शब्दभण्डार बढाउने र नयाँ शब्दहरु लेख्ने याद गर्ने र ती शब्दहरूलाई निरन्तर प्रयोग गर्ने अभ्यास गर्न थालेँ । यो प्रयोग निरन्तर गरिसकेपछि अंग्रेजी भाषाको सिकाइमा आफूलाई केही परिवर्तन भएको महशुस पनि भयो ।
वास्तवमा अभ्यास गरेपछि कुनै पनि कुरामा सफलता प्राप्त गर्न सकिँदो रहेछ भन्ने कुरा तिनै बालिकाबाट सिक्न पाएँ । त्यसैले तिनै बालिकालाई मैले प्रेरणाको स्रोत सम्झिएँ, मनले गुरुआमाको रुपमा पुज्न थालेँ ।
पच्चीस वर्षअगाडि भएको यो घटनालाई मैले कहिल्यै पनि बिर्सनै नसक्नेमध्येको एक भयो । बरु लामो समय बितिसकेपछि ती बालिका आजभोलि कहाँ होलिन् के गर्दै होलिन् ? भन्ने चासो मलाई लागिरह्यो र उनलाई खोज्नका निमित्त मैले धेरै प्रयास पनि गरेँ तर मेरा सबै प्रयासहरु निरर्थक भए । कहीँकतैबाट मैले जानकारी पाएँ अहिले कुनै विद्यालयमा अध्यापन गर्दै छिन् । धेरै प्रयास गर्दा गरेँ उनलाई भेट्नका लागि सामाजिक सञ्जालमा उनको नामबाट खोजी गरेँ तथापि मैले भेट्न सकिन । त्यो विद्यालयमा अध्ययन गर्ने तमाम बालबालिकाहरू र शिक्षकहरु मध्ये मलाई अहिलेसम्म ती सानी बालिकाको नाम मात्रै ताजै रहेको छ ।
विश्व कोरोना महामारीको अवस्थामा रहेको समयमा यो खाली समयलाइ सदुपयोग गर्ने उद्देश्यले नेपालका शिक्षकहरुलाई प्रविधि मैत्री शिक्षक समाजको प्रविधि सिक्ने सिकाउने अभियानमा जोडीइरहँदा कुनै एउटा अनलाइन तालिममा मैले अचानक ती बालिकाको नामसँग मिल्दोजुल्दो कोही कसैको नाम सहभागीहरुको लिस्टमा देखेँ । तत्काल मैले प्राइभेट च्याट गरेर उनको बारेमा सोधेँ । यसरी सोध्दा उनको जवाफ थियो तपाई झुक्किनु भयो होला सायद म त्यो मान्छे होइन हजुरले जुन सोचिरहनुभएको छ । यो जवाफले म फेरि नाजवाफ बनेँ । फेरि एकपटक अन्तिम प्रयास गर्न मन लाग्यो र सानुमा पढेको विद्यालयको नाम र केही शिक्षकहरूको नाम सहित प्रमाण पेस गरिसकेपछि उनबाट जवाफ आयो, “गुरु नमस्कार” । उनले सम्मानपूर्वक सम्बोधन गर्दै यसरी धेरै लामो समयपछि आफूलाई पढाउने गुरुसँग भेट भएकोमा खुसी व्यक्त गरिन् । म भने झन् धेरै खुसी भएँ । वास्तवमा प्रविधिले गर्दा नै दुई दशकभन्दा लामो समयपछि तिनै बालिकासँग भेट भयो । नम्बर आदनप्रदान गरेर मैले पछि खाली समयमा कल गरेँ । उनीसँगको भेट अनि कक्षामा उनको अनुरोध मेरो स्मरणमा ताजै भएपनि उनले बिर्सिसकेकी रहिछन् ।
यो घटना आज मैले लेखमार्फत प्रस्तुत गरिरहेको छु सायद यो लेख उनलेपनि पढ्दैछिन् होला । आफ्नै विद्यार्थी भएतापनि अङ्ग्रेजी भाषा सिकाइको सन्दर्भमा मैली गुरुआमा भनेर सम्बोधन गरेँ । अहिले उनी अंग्रेजी विषयकै शिक्षकको रुपमा कार्यरत रहेको कुरा मैले जानकारी पाएँँ । कक्षा चारमा पढ्दा उनमा त्यो सम्भावना प्रष्ट देखिएको थियो जुन उनको आत्मविश्वासले त्यतिबेलै प्रस्फुटित गरेको थियो ।
यो आलेखमा ती विद्यार्थी जसले मलाई अङ्ग्रेजी सिक्नका लागि प्रेरित गरिन् उनको नाम गर्वका साथ लेख्न चाहन्छु । अहिले उनी नेपालगन्जस्थित एक सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षिकाको रुपमा कार्यरत छिन् उनी हुन् शान्तिदेवी आचार्य । मैले उनीसँग यो घटनाको बारेमा पनि भनिन । उनले भन्नको लागि कर गरिरहँदा पनि मैले लेखको रुपमा प्रकाशन गर्नेछु भनेँ र आज यो संस्मरणात्मक आलेख तयार गरेको छु ।
वास्तवमा धेरै प्रयास गर्दा पनि मैले भेट्न सकेको थिइन आज फोनबाट भएपनि उनीसँग सम्पर्क हुँदा धेरै खुशी लागेको छ । कुनै कुनै घटनाले यतिसम्म प्रभाव पार्दा रहेछन् कि लामो समयसम्म ती घटनाहरु मनस्पटलमा आइरहने रहेछन् । वास्तवमा उनको लगनशिलता मेहेनत अनि प्रस्तुतीले प्रभावित भएको म आज उनलाई एक शिक्षिकाको रुपमा भेट्न पाउँदा निकै हर्षित भएको छु । कुनै घटनाले यसरी प्रभावित पार्ने रहेछ जसले आफूलाई परिवर्तन हुनका लागि पनि सहयोग गर्दोरहेछ । आफ्नो सिकाइ र व्यवहारलाई परिवर्तन गर्नका निमित्त योगदान दिने जो कोहीलाई पनि बिर्सिन गाह्रो हुँदोरहेछ । पच्चीस वर्षसम्म पनि प्रतक्ष्य भेट नहुँदा मेरो मनमा ती बालिकाको नाम भने ताजै रहिरहेको थियो र जीवनभर नै रहिरहनेछ ।
अब ती सानी बालिका बालिका हैनन् उनी आज एक सच्चा इमान्दार कर्तव्यनिष्ठ गुरुआमा भएकी छिन् र म फेरी पनि एकपटक बडो छाती फुकाएर ससम्मान नाम लिन चाहन्छु मेरी गुरुआमा शान्तिदेवी आचार्य ।
यसैगरी मेरो सिकाइको अर्को घटना पनि आज लेखमार्फत प्रस्तुत गर्न लागको छु । जुन घटनाले मलाई कम्प्युटर टङ्कणमा केही दुईचार कुरा सिक्नका लागि र प्रविधिमा स्वनिर्भर हुनका लागि प्रेरित ग¥यो । यो घटना भने २०६५ सालतिरको हो ।
स्नातकोत्तर तहको सैद्धान्तिक परीक्षा सकिएपछि शोधपत्रका लगि काम गर्नुपर्ने थियो । अनुसन्धानको लागि सम्पूर्ण प्रक्रिया पूरा गरेपछि आवश्कयक तत्थ्याङ्कहरु संकलन गरेर तालिकीकरण तथा विश्लेषण गर्ने कार्य शुरु गरेँ । अब लेखनपश्चात अब त्यसलाई कम्प्युटरटाइपिङको कार्य गर्नु पर्ने भयो । टाकनटुकुन किबोर्ड हेरेर अङ्ग्रेजी टाइपिङ गर्ने भएपनि नेपाली टाइप गर्ने कुरामा भने केही जानकारी थिएन । अलिअलि अन्दाज भने थियो । त्यसैले टाइपिङका लागि एकजना व्यवसायिक टाइपिस्टलाई जिम्मा दिएँ । वहाँले केही दिनमै टाइपिङ गरिदिनुभयो । म उक्त शोधको सफ्टकपि पेनड्राइभमा लिएर काठमाडौँ पुगेँ । त्यसलाई प्रिन्ट गरेर शोध निर्देशक सरलाई भेट्नका लागि बल्खु पुगेँ । वहाँले धेरै ठाउँमा सुधार गरिदिनुभयो र यो अनुसार सच्याएर ल्याउनुस् भन्नुभयो । म वहाँसँग विदा भएर ४ दिनपछि आउने भनी फर्केँ । अब कहाँ गएर कसलाई भनेर शुद्धाशुद्धी सच्याउँ भन्ने तनाव भयो । एकजना चिनेको दाइको कार्यालयमा पुगेर मेरो समस्या बताएँ । वहाँले तलको कोठामा गएर एकजना बहिनीसँग सहयोग माग्न भन्नुभयो र म त्यसै गरेँ । वहाँले मसँग पेन ड्राइभमा भएको सफ्टकपि मागेर सच्याउन थाल्नुभयो । तर, वहाँले सच्याउँदै गर्दा दायाँ हातको मात्रै प्रयोग गर्नुभएको थियो । म कौतुहलतामा परेँ । बायाँ हातको भाग भने सलले छोपिएको थियो । मैले किन होला एउटा हातले मात्रै अक्षरहरु सच्याउदै टाइप गर्नुभएको भनेर मनमनै सोचिरहेको के थिएँ, यत्तिकैमा वहाँको हात छोपिएको सल तल खस्यो । मैले वहाँको हात कुमनिनरबाट नभएको दृश्य देखेँ । अर्थात, वहाँको एउटा हात रहेनछ ।
यो दृश्यले मलाई ठूलो चोट प¥यो । चक्कर लाग्यो, आँखा देख्ने भएपनि वरपर अँध्यारो छायो, अनि सोचेँ मेरो शरीर पुरै अङ्गयुक्त भएर पनि के काम भयो र ? आफैले आफैलाई मनमनै धिक्कारेँ । म शारीरिक रुपमा पूर्ण सक्षम भएरअपाङ्ग त म पो रहेछु भन्ने महशुस भयो । त्यो घटनाले मलाई सधैंभरी पोलिरह्यो सपनामा पनि झसङ्ग बनाइरह्यो । त्यसपछि प्रण गरेँ निरन्तर लागरिहेँ र अहिले मैले दर्जनौँ पुस्तकहरु टाइपिङ तथा डिजानिङ गरिसकेको छु । अहिले नेपाली टाइपिङका लागि अत्यन्तै सहज छ । विद्यालयमा हुने परीक्षाका आफ्ना विषयका प्रश्नपत्रहरु मात्रै हैन अन्य धेरै कार्यहरु सबै आफैले गर्न सकेको छु ।
त्यसैले कसैले केही कुरा सिक्नका लागि ठक्कर नलागीकन संभव छैन । ठक्कर पछि नै अक्कर खुल्दो रहेछ । यहि अक्करले ईच्छाशक्तिलाई जगाएमा कुनै पनि कुरा निरन्तर साधना र धैर्यताका साथ गरेमा हजुरहरु पनि सफल हुनुहुनेछ । हजुरहरु सबैलाई हार्दिक शुभकामना छ ।
मेरो पहिलो घटना आजभन्दा २५ वर्ष अगाडिको हो भने दोस्रो घटना १२ वर्ष पुरानो हो त्यसैल यो संस्मरणात्मक लेखको शिर्षक नै मैले राखिदिएँ २५ + १२ = ७७ । अर्थात् एउटा घटना २५ वर्ष अगाडिको अर्को घटना १२ वर्ष अगाडिको अनि लेख भने ७७ सालमा लेखिरहेको छु । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close