लेखक:-मेनुका शर्मा जिज्ञासु/स्वर्गद्वारी ८,प्यूठान-
पूजनीया आमा..!
मेरो पीर कत्ति नगर्नु है,
म त खाडीमा छु,
जति प्रयास गरेपनि
सकिन फर्किन,
सँगै आएका साथी आज बाकसमा फर्किदै छन्
आमा,
म उनीहरूको लास समेत हेर्न सक्दिन
तर आमा,
मेरो पीर कत्ति नगर्नू है..!
साहुको ऋण तिर्ने ठहरमा
तिम्रो फाटेको चोली फेर्ने रहरमा
जहानका आवश्यकता पूरा गर्ने कहरमा,
बालबच्चाको शिक्षा बिचमै रोकिन्छ कि भन्ने डरमा,
मुग्लान पसेंको म,
अहिले
काल कोठरीको जहरमा छु,
तर , आमा
मेरो पीर कत्ति नगर्नू र्है..!
हो म आज
बन्द कोठारूपी जेलभित्र थुनिएको छु
कोरोना भन्ने शत्रुले बाहिर निस्कन दिंदैन अामा,
अहिले त साहु पनि बन्दी बनेको छ
त्यसैले मलाई पनि पारिश्रमिक दिन्न भनेकोछ,
तर आमा,
मेरो पीर कत्ति नगर्नू है..!
मनमा अनेक सपना बोकेर
निर्दयी जस्तै बनेर,
परिवारमा खुसी ल्याउन
मातृभूमिलाई चटक्कै छोडेर
हिंडेको म परदेशी
पूर्णिमाको उज्यालो खोज्दै हिंडेको
औंसीको अध्यारो मात्र भेट्टाएँ
तर आमा
मेरो पीर कत्ति नगर्नू है..!
आमा,
आँसु नझार्नू है,
एकदिन म
अवश्य फर्कने छु
साहुको ऋण तिर्नेछु
तिम्रो फाटेको चोली फेर्नेछु
जहानका हरेक आवश्यकता पूरा गर्नेछु,
बालबच्चाको भविष्यमा शिक्षाको ज्योति दिलाउँनेछु
त्यसैले ,
आमा,
मेरो पीर कत्ति नगर्नू है..!!
गर्नेछु आफ्नै गाउँवेशी
तिम्रो सुपुत्र परदेशी,,!!
Nice Article. Keep it up Sister…