बिकास बिक्रम के.सी. “वर्तमान”/अनेरास्ववियु बाँके जिल्ला सचिवालय सदस्य-
देश किन बन्न सकेन ? हो, पनि आफ्नो देश नबनेको चिन्ता सबैलाई हुन्छ नै । शिक्षित हुन या अशिक्षित धनी तथा समृद्ध देशको नागरिक बन्ने सपना कसले सँगालेको हुँदैन र ?
सबैमा अवगत भएकै कुरा हो । देश नबन्नुका पछाडि धेरै नै कारण वा बेथितिहरु रहेका छन् । त्यो सम्पुर्ण विषयलाई अहिलेको यो सानो शीर्षकमा न्याय गर्न सकिन्न । पछि कुनै स्थानमा लामै बृहत बहस गर्नु पर्ला । किन बनेन भन्दा पनि हामीले किन बनाउन चाहेनौं भन्ने कुरा नै अहिलेको प्रमुख चिन्ता र चासोको दृष्टान्त हो।
राज्यको सम्पत्ति दोहन गर्ने, चिया पसलमा अनेकथरी रोइला गर्ने, संगठनमा कति बर्ष लाग्यो र के योगदान गर्यो को आधारमा जिम्मेवारी प्रदान गर्ने। जबसम्म यो प्रवृत्ति हावी रहन्छ। तबसम्म हुनेवाला केही छैन।यो नै बिकासको बाधक तत्व हो। हामिलाई आमूल परिवर्तन चाहिएको छ। बिकास चाहिएको छ। माध्यमिक तह सम्म शिक्षा नि:शुल्क र बालबालिकाकालाई पौष्टिक आहाराको व्यवस्था सहित प्राथमिक शिक्षालाई चेतनामूलक, माध्यमिक शिक्षालाई व्यवसायमुखी र उच्च शिक्षालाई खोज तथा अनुसन्धानमुलक शिक्षा चाहिएको छ। स्वास्थ्य चाहिएको छ। समृद्धि चाहिएको छ। जसले यी सबै कुरा प्रदान गर्न सक्दछ हामिलाई त्यस्तो दुरदृष्टि (vision) भएको नेतृत्व चाहिएको छ।
देश कसरी बन्छ भन्ने कुरा जान्नका लागि हामीले जापानको इतिहास पढ्नु पर्छ । देश कसरी बन्छ भन्ने बुझ्नका लागि हामीले चीनको इतिहासलाई धुलिसात पारेर खार्नु पर्छ । अनि देश कसरी बन्छ भनेर बुझ्नका लागि त हामीले सिङ्गापुरको इतिहास अझ खासगरी लि क्यानको जीवनीलाई पानापानामा गढेर पढ्नु पर्छ । भारत कसरी बन्यो ? बेलायत कसरी बन्यो ? अमेरिका कसरी बन्यो ? युरोप, क्यानाडा र अष्ट्रेलिया कसरी बनेँ ? पहिले त त्यो हेर्नुपर्छ अनि मात्र हाम्रो देश बनाउन सकिन्छ । चिया र रक्सीको चुस्कीमा देश बन्ने हो भने उहिल्यै नै नेपाल बनिसक्ने थियो । हैन त ?
उदाहरणका निमित्त छिमेकी भारतको विहारका मुख्य मन्त्री नितीशकुमारको विकास शैलीलाई हेरे पुग्छ । लालुले खग्रास पारेको विहारलाई नितीशकुमारले जसरी विकासे छलाङ मारेर अहिलेको परिवर्तनशील विहार बनाए हो, त्यस्तो राजनेता अहिलेको नेपाललाई चाहिएको छ । हुन त नेपालमा अहिले पनि कछुवाको तालमा आफ्नै तालका विकासका कार्यहरू भैरहेका छन् । तर त्यस्ता विकासका कार्यले नेपालको कायापलट गर्ने सम्भावना म न्यून देखिरहेको छु । यस्तो परिस्थितिमा भन्न खोजिएको चाहिँ के भने यहाँ विकास र निर्माणका कुरामा आँधीहुरी ल्याउन खोज्ने नेता नै चाहिएको छ ।
हेर्नुस् जबसम्म अनुहार बदलिदैन तबसम्म ऎना बदलेर मात्र प्रतिबिम्ब फेरिदैन। अब दृश्यहरुको मुकदर्शक भएर टुलुटुलु बस्ने मनस्थितिमा हामी तयार छैनौं।