सन्दीप लामिछाने जेल चलान, अदालतले दियो पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाण्डौं-
गत मङ्गलवारदेखि थुनछेक बहस सुरु भएको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोपमा जिल्ला अदालत काठमाण्डौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूका सह न्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार सन्दीप लामिछानेलाइ नाबालिका बलत्कार मुद्दामा जिल्ला अदालत काठमाण्डौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
प्रहरीले तीन पटक अदालतबाट म्याद थपेर करिब एक महिनादेखि प्रहरी हिरासतमा राखि अनुसन्धान गरी जबरजस्ती करणीको आरोपसहित यसै साता सरकारी वकिलहरूले लामिछाने विरुद्ध मुद्दा दायर गरेका थिए। लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कैद सजाय हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति स्वरूप पाँच लाख रुपैयाँ दिनुपर्ने माग दाबी पनि गरिएको काठमाण्डौं जिल्ला अदालतले जनाएको छ भने लामिछानेले चाहिँ आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन्।